पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेकाछन्। उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेकाछन् । उनले भने, “यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।” विगत सात वर्षदेखि उनी यो व्यवसायमा आबद्ध छन् । उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थालेका हुन् । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए । व्यवसाय धान्न एक जनालाई रोजगार दिएकाछन् । टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेकाछन् । व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामोसमयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उनको अनुभव छ ।
