हेटौंडा, साउन ४ — मनसुनी वायुको प्रभावले आइतबार देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा अलिकति उत्तरतर्फ सरेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने महाशाखाको भनाइ छ।
उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
भारी वर्षाले पहाडी भू–भागमा पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने, नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले सबैलाई आग्रह गरेको छ। यातायात र जनजीवनमा पनि असर पर्न सक्ने भएकाले सजग रहन सुझाव दिइएको छ।
