साउन ४ – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले विषादी प्रयोग गर्दा सावधानी अपनाउन कृषकहरूलाई आग्रह गरेको छ। कृषि–मौसम सल्लाह बुलेटिनमार्फत विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू सुझाइएको हो।
विषादी छनोट गर्दा:
हरियो वा नीलो लेबल भएको विषादी मात्र प्रयोग गर्नुहोस्।
विषादीको डब्बामा स्पष्ट रूपमा उत्पादन र समाप्ति मिति उल्लेख भएको हुनुपर्छ।
सिफारिस गरिएका मात्रामा मात्र विषादी प्रयोग गर्नुहोस्।
विषादीहरू सुरक्षित, बालबालिका र जनावरको पहुँचबाट टाढा राख्ने गर्नुहोस्।
विषादी छर्कने बेला:
मुखमा मास्क, हातमा पञ्जा, खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा अनिवार्य प्रयोग गर्नुहोस्।
घाम कडा लागेका बेला, अत्यधिक हावाहुरी वा वर्षा भइरहेको अवस्थामा विषादी नछर्नुहोस्।
हावाको दिशातर्फ फर्केर कहिल्यै विषादी नछर्नुहोस् — विषादीको छराव हावासँगै तपाईंमा फर्कन सक्छ।
छर्ने क्रममा पछि सर्दै जानुहोस्, विषादी छरेको ठाउँमा हिँड्न नपरोस्।
नोजल बन्द भएमा दाँत वा मुखले खोल्ने काम नगर्नुहोस् — यसले विष शरीरभित्र जान सक्छ।
विषादी प्रयोगपछि:
विषादी प्रयोग गरेपछि हातखुट्टा राम्ररी धोई पुरै शरीर नुहाउनुहोस्।
खाली बट्टा, बोतल वा सिसीहरू सुरक्षित रूपमा खाल्डोमा गाड्नुहोस्।प्रयोग गरिएका उपकरणहरू सफा गरी सुरक्षित ठाउँमा राख्नुहोस्।
विषादी छर्दै गर्दा टाउको दुख्ने, वाकवाकी लाग्ने आदि लक्षण देखिएमा तुरुन्त काम रोक्नुहोस् र खुला हावामा केहीबेर बस्नुहोस्। आवश्यक परे स्वास्थ्य संस्थामा जानुहोस्।
बाली संरक्षण र उपभोग:
विषादीको प्रकारअनुसार ३ देखि १५ दिनसम्म बालीहरू नखाने र गाईवस्तुलाई पनि नखुवाउने गर्नुहोस्।
