साउन ५ गते। गोरखाका किसानहरूलाई नगदेबालीतर्फ आकर्षित गर्न लक्षित गर्दै जिल्लाका चारवटा गाउँपालिकामा एक लाख अलैँचीका बिरुवा निःशुल्क वितरण गरिएको छ।
यो कार्यक्रम स्वाँरा संघन गाउँ विकास केन्द्र र CIS (सिआएस) को साझेदारीमा सञ्चालित स्पाइस परियोजना अन्तर्गत सम्पन्न गरिएको हो। परियोजनाका कार्यकारी निर्देशक सितारा श्रेष्ठका अनुसार, अलैँचीजस्ता उच्च मूल्यका बाली किसानको आम्दानी वृद्धि गर्न उपयोगी हुने भएकाले वितरण कार्यक्रम सञ्चालन गरिएको हो।
असार ३० गतेदेखि सुरु गरिएको बिरुवा वितरण कार्य साउन ५ गतेसम्म सञ्चालन भयो। यस अवधिमा अजिरकोट, धार्चे, सिरानचोक र आरुघाट गाउँपालिकाका किसानहरूलाई अलैँचीका बिरुवा उपलब्ध गराइएको थियो।
कृषि उत्पादनमा विविधता ल्याउने र दीर्घकालीन फाइदा दिने उद्देश्यसहित यो पहल गरिएको हो। किसानहरूले पनि यस कार्यक्रमबाट भविष्यमा राम्रो आम्दानी हुने अपेक्षा राखेका छन्।
