वर्षाले किसानलाई दिलायो राहत


साउन ५ – धेरै दिनको प्रतिक्षापछि आइतबार साँझदेखि परेको वर्षाले कैलालीका किसानलाई ठूलो राहत दिएको छ। पानीको पर्खाइमा रहेका किसान वर्षा भएपछि खुसी भएका छन्।

वर्षा नहुँदा खेत सुख्खा भएर धान सुक्न थालेको थियो। कतिपय ठाउँमा जमिन फाट्न थालेको थियो। यस्तै बेलामा आएको पानीले धानबालीलाई फाइदा पुगेको किसान बताउँछन्। किसान बलराम चौधरी भन्छन्, “अब बल्ल खेती जोगिने आशा जागेको छ।”

रोपाइँ गर्दा पानी नपरेर समस्या खेप्नुपरेको किसानहरू रोपाइँ सकिएपछि पनि पानी नपरेर चिन्तित थिए। अन्ततः वर्षा भएपछि उनीहरू सन्तुष्ट देखिएका छन्।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक विष्टका अनुसार जिल्लाको ९१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६७ हजार हेक्टरमा धान खेती गरिएको छ। यस वर्ष समयमै रोपाइँ सकिए पनि सुख्खाको असरले धानको विकास रोकिएको उहाँले जानकारी दिनुभयो।

By कृषि पाटी

अरू पढ्नुहोस्