हेटौंडा, साउन ६ – आर्थिक वर्ष २०८१/८२ मा नेपालले चार अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको चिया निर्यात गरेको छ। मेची भन्सार कार्यालयका अनुसार यो अघिल्लो वर्षको तुलनामा ३२.२ प्रतिशतले बढी हो।
गत वर्ष नेपालबाट एक करोड ५४ लाख १६ हजार ७५६ किलो चिया विदेश पठाइएको थियो। अघिल्लो आव २०८०/८१ मा मात्र तीन अर्ब १७ करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको चिया निर्यात गरिएको थियो।
चिया निर्यातमा देखिएको यो वृद्धिको कारण मागमा आएको वृद्धि, कोभिडपछिको बजार स्थिरता, र निर्यात प्रक्रियामा कम अड्चन हुनु भएको व्यवसायीहरूको भनाइ छ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार, “कोभिड–१९ को असरले केही वर्ष चिया बजारमा असर पारेको थियो। तर, अब माग पुनः बढ्दै गएको छ। भारतसहित तेस्रो मुलुकमा नेपाली चियाको माग उल्लेखनीय रूपमा बढेको छ।”
उनले थपे, “यस वर्ष चिया उद्योगहरूले किसानलाई पनि राम्रै मूल्य दिएका छन्। मुना हेरेर प्रतिकिलो ४० देखि ६० रुपैयाँसम्ममा किसानबाट चिया खरिद भइरहेको छ।”
