कृषिमा आत्मनिर्भरता हासिल गर्ने सरकारको पहल

हेटौँडा, साउन ६ गते। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशलाई कृषिमा आत्मनिर्भर बनाउने दिशामा स्पष्ट योजना र कार्यान्वयन अघि बढाएको जनाएको छ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रामनाथ अधिकारीले विगत एक वर्षको कार्यकालमा मन्त्रालयमार्फत थुप्रै नीतिगत तथा संस्थागत सुधारहरू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार धानमा आत्मनिर्भरता हासिल गर्ने क्रममा मधेस प्रदेशमा देखिएको खडेरी समस्या समाधानका लागि मन्त्रालयले तत्काल अध्ययन टोली खटाइसकेको छ।

कृषकलाई दिइने सेवा र सहुलियत सुविधामा सुधार ल्याउने प्रयासमा मन्त्रालय निरन्तर क्रियाशील रहेको मन्त्री अधिकारीको भनाइ थियो। कृषि उत्पादन र उत्पादकत्व वृद्धिसँगै आधुनिकीकरण, बजारीकरण तथा किसानको जीवनस्तर सुधार मन्त्रालयका मुख्य प्राथमिकता भएको पनि उहाँले उल्लेख गर्नुभयो।

यद्यपि, सोचेजस्तै सम्पूर्ण योजना कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै मन्त्री अधिकारीले मन्त्रालयका प्रयासहरू समग्र कृषि प्रणाली सुधार र कृषक हितमा केन्द्रित रहेकोमा जोड दिनुभयो।

By कृषि पाटी

अरू पढ्नुहोस्