देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

साउन ६ गते। यस वर्ष देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

गत वर्षको सोही अवधिमा ८४ प्रतिशत रोपाइँ भएकोमा यसपटक १२ प्रतिशत कम भएको मन्त्रालयले जनाएको हो।

देशभर झण्डै १० लाख हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ। कुल रोपाइँ हुने क्षेत्रफल करिब १४ लाख हेक्टर रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो।

प्रदेश अनुसार हेर्दा, सुदूरपश्चिममा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत, बागमतीमा ८७ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा मात्रै १ लाख ७१ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने बागमतीमा १ लाख ५ हजार हेक्टर जमिनमा धान रोपिएको छ।

जोशीका अनुसार मौसम अनुकूल रहेमा साउनको अन्त्यसम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ।

मन्त्रालयका अनुसार आइतबारसम्म देशका केही भागमा रोपाइँ कार्य अझै पनि जारी रहेको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्