५ साउन । पोखरा महानगरपालिका–११ की लक्ष्मी अधिकारी र टीकामाया मगर अहिले व्यावसायिक गड्यौला मल उत्पादनतर्फ सक्रिय छन् । उनीहरूले निलबाराही कृषि तथा भर्मी कम्पोष्ट एग्रो फर्म सञ्चालन गर्दै गड्यौला मल उत्पादनसँगै तरकारी तथा घाँस खेती पनि गरिरहेका छन् ।
फर्मका सञ्चालक लक्ष्मी अधिकारीका अनुसार हाल गड्यौला मलको माग तीव्र रूपमा बढिरहेको छ । उनले जानकारी दिएअनुसार प्रति किलो ५० रुपैयाँमा गड्यौला मल बिक्री भइरहेको छ । सुरुआतमा सानो क्षेत्रफलमा सुरु गरिएको खेती हाल करिब डेढ रोपनी जग्गामा विस्तार गरिएको छ ।
गड्यौला मल उत्पादनका लागि उनीहरूले भक्तपुरको बोडे क्षेत्रबाट गड्यौला ल्याउने गरेका छन् । अधिकारीका अनुसार हरेक तीन महिनामा मल तयार हुन्छ । हाल एक सिजनमा करिब एक हजार किलोसम्म गड्यौला मल उत्पादन हुने गरेको छ भने आगामी दिनमा क्षेत्र विस्तार गर्दै दुई हजार किलो उत्पादन गर्ने लक्ष्य लिएको उनले बताइन् ।
खेती विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कास्की कार्यान्वयन इकाइबाट ५० प्रतिशत अनुदानस्वरूप चार लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
परियोजनाका प्रमुख माधवप्रसाद लम्सालका अनुसार गड्यौला मल प्राङ्गारिक खेतीका लागि निकै उपयोगी मानिन्छ । रासायनिक मलको विकल्पको रूपमा, विशेषतः सानो जग्गामा खेती गर्ने तथा कौसी खेती गर्ने कृषकहरूका लागि गड्यौला मल उत्कृष्ट विकल्प हो ।
