बाँझो जमिनमा व्यावसायिक अनारखेती

साउन ७ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का किसानहरूले लामो समयदेखि बाँझो अवस्थामा रहेको जमिनमा व्यावसायिक अनारखेती सुरु गरेका छन् । बडी क्षेत्रको करिब सात सय रोपनी जमिन अहिले अनारका हरिया बिरुवाले ढाकिएको छ ।

महादेव अनारखेती समूहको अगुवाइमा यो प्रयास सुरू गरिएको हो । समूहले वार्षिक २० हजार रुपैयाँ भाडामा लिई उक्त जमिनमा १० हजार अनारका बिरुवा रोपेको छ । तीमध्ये ८ हजारभन्दा बढी बिरुवा राम्ररी सप्रिएका छन् भने केहीले यसै वर्षदेखि फल दिन सुरु गरेका छन् । बिरुवा रौतहटबाट मगाइएको समूहले जानकारी दिएको छ ।

आयोजनामा हालसम्म ६५ लाख रुपैयाँ लगानी भइसकेको छ । कृषि ज्ञान केन्द्र डडेल्धुरा र समूहको संयुक्त लगानीमा सञ्चालित यो योजनाबाट किसानहरूले वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

समूहका अध्यक्ष मदनराज पनेरुका अनुसार स्थानीय सरकार र कृषकको सहकार्यमा यो कार्यक्रम अघि बढाइएको हो । अब यसलाई कृषि पर्यटनसँग जोडेर थप विस्तार गर्ने योजना समेत बनाइएको छ ।

यसले डडेल्धुराको बाँझो जमिन उपयोगमा ल्याउनुका साथै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

By कृषि पाटी

अरू पढ्नुहोस्