साउन ७ गते । तनहुँस्थित कृषि ज्ञान केन्द्रले चालू आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको विभिन्न क्षेत्रफलमा सुन्तलाखेती तथा फलफूल बगैँचा विस्तार गरेको छ।
केन्द्रका अनुसार भिमाद नगरपालिका–९ स्थित अस्पाग्दीमा रहेको सुन्तला विकास कृषक समूह मार्फत १५७ रोपनी जमिनमा सुन्तलाखेती विस्तार गरिएको हो। ‘ब्लक विकास कार्यक्रम’ अन्तर्गत सो क्षेत्रमा तीन हजार १५० सुन्तलाका बोट रोपिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो।
कार्यक्रमका लागि कुल रु. १४ लाख ५० हजार बजेट विनियोजन गरिएकामा हालसम्म रु. सात लाख ४८ हजार खर्च भएको छ।
यस क्रममा कृषक समूह तथा सहकारीलाई आठ मिनी टिलर, सात स्प्रेयर, पाँच आरी, दश सिकेचर, दश ट्याक्टर गोठेमल वितरण गरिएको छ। साथै, तीनवटा पोखरी र चारवटा सिँचाइ ट्याङ्की पनि निर्माण गरिएको लामिछानेले जानकारी दिनुभयो।
त्यस्तै, सोही आर्थिक वर्षमा केन्द्रले १९ वटा सहकारीमार्फत फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमका लागि रु. १५ लाख बजेट विनियोजन गरिएकामा रु. १० लाख ४० हजार खर्च गरिएको छ।
कार्यक्रम अन्तर्गत ३८१ रोपनी क्षेत्रफलमा रहेका फलफूल बगैँचाको व्यवस्थापन तथा सुधार गरिएको हो। यस क्रममा ५० किलो चुना, ४० किलो नीलोतुथो, २६० किलो रेडिमेड पेष्ट, करिब १ लाख ९४ हजार किलो गोबर मल, ३०० किलो पिना, तीन हजार १०० मिटर सिँचाइ पाइप, आठ ब्रस कटर, दुई मिनी टिलर, ६० आरी, एक मोटर र एक तराजु वितरण गरिएको छ।
अर्को कार्यक्रम अन्तर्गत २० कृषक समूहलाई समेटेर ४१४ रोपनी क्षेत्रमा नयाँ फलफूल बगैँचा स्थापना गरिएको छ। सो कार्यका लागि विनियोजित ३० लाखमध्ये हालसम्म रु. १३ लाख ५३ हजार खर्च भएको छ।
यस कार्यक्रमअन्तर्गत सुन्तला (कलमी र बिजु) ४ हजार ५२२, कागती १ हजार २५०, निबुवा ४६०, एभोकाडो १६०, लिची १६७, मेवा ८२०, केरा ५२८, ड्रागन फ्रुट १ हजार ५०० र अन्य जातका ३२९ बिरुवा रोपिएको केन्द्रले जनाएको छ।
