८ साउन । स्याङ्जा जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुन्तला सुपरजोन कार्यक्रम अन्तिम वर्षमा प्रवेश गरेको छ। परियोजना सुरु भएको दस वर्षको अवधिमा जिल्लामा सुन्तला खेती उल्लेख्य रूपमा विस्तार भएको छ।
आर्थिक वर्ष २०७३/७४ मा सुरु गरिएको परियोजनाको सुरुवातमा ८८७ हेक्टरमा मात्र सुन्तला खेती थियो। तर हालसम्म यो क्षेत्रफल करिब तीन गुणाले बढेर दुई हजार ३५० हेक्टर पुगेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, सुन्तला सुपरजोन स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार, आर्थिक वर्ष २०८०/८१ सम्ममा २,२५० हेक्टर क्षेत्रमा सुन्तला खेती भएको थियो भने, गत वर्षमात्र १०० हेक्टर क्षेत्रमा थप विस्तार गरिएको हो।
परियोजनाले सहकारी संस्था, कृषक समूह तथा निजी फार्ममार्फत कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, सिँचाइ सामग्री, निलोतुथो, खोप र विषादी उपलब्ध गराउँदै आएको छ। हालसम्म जिल्लाका २४ सहकारी संस्था, ८७ कृषक समूह र २५१ वटा निजी तथा व्यावसायिक फार्ममा सुन्तला खेती विस्तार भइसकेको छ।
स्याङ्जाका ११ मध्ये १० स्थानीय तहमा यो कार्यक्रम सञ्चालनमा छ। कालीगण्डकी गाउँपालिकाबाहेक सबै पालिकामा सुपरजोनको कार्यक्रम पुगेको हो। पुतलीबजार, भीरकोट र अर्जुनचौपारीमा सुन्तलाको क्षेत्रफल विशेष रूपमा बढिरहेको जनाइएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा कुल क्षेत्रफलमध्ये ६० प्रतिशत सुन्तला बोटबाट उत्पादन लिइएको थियो, जसबाट एक अर्ब १२ करोड रुपैयाँ आम्दानी भएको थियो। बाँकी ४० प्रतिशत क्षेत्रमा नयाँ बिरुवा मात्र लगाइएकाले आगामी वर्षहरूमा उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ।
दश वर्षे कार्यकालका लागि सुरु गरिएको सुन्तला सुपरजोन परियोजना अहिले अन्तिम वर्षमा पुगेको छ। परियोजनाबाट देखिएको प्रगति र सम्भावनाले आगामी दिनमा पनि यस क्षेत्रको सुन्तला खेतीमा ठूलो योगदान रहने संकेत गरेको छ।
