काठमाडौँ, साउन ९ — नेपालको प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा यस वर्ष मनसुन कमजोर रहेकाले धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले उक्त क्षेत्रलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म जम्मा ४७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ, जबकि गत वर्ष यसै समयमा ८०.६ प्रतिशत रोपाइँ भइसकेको थियो। यस क्षेत्रमा कुल ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गर्छ।
देशभर साउन ४ गतेसम्म ७२.१४ प्रतिशत रोपाइँ भएको छ भने गत वर्ष सोही अवधिमा ८४.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो।
मन्त्रालयका प्रवक्ता डा. सरोज चौधरीका अनुसार वर्षा नहुँदा धानको बीउ डढ्न थालेको छ र रोपिएको धान सिँचाइको अभावमा सुक्न थालेको छ। “मधेसका फाँटहरू सुक्खा देखिन्छन्, सिँचाइको वैकल्पिक उपायबारे छलफल भइरहेको छ,” उहाँले बताउनुभयो।
राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादवका अनुसार साउन २०–२२ गतेसम्म पर्याप्त वर्षा नभए धान उत्पादनमा १५ देखि २० प्रतिशतसम्म कमी आउन सक्नेछ। “समी समयमा रोपाइँ र सिँचाइ हुन नसके उत्पादन घट्छ,” उहाँले भन्नुभयो।
बालीविद् डा. डिल्लीराम शर्माले मधेस क्षेत्रलाई धान उत्पादनको केन्द्र मानेर सुक्खाले उत्पादनमा गम्भीर असर पार्ने बताएका छन्। “बीउ सुकिसकेको छ, छिप्पिएको बीउ रोप्दा उत्पादन घट्छ,” उहाँले भन्नुभयो, “अब सुक्खा प्रतिरोधी बाली तथा वैकल्पिक खेतीबारे गम्भीर अनुसन्धान गर्नुपर्छ।”
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिभर सामान्यतया १,४०० मिमि वर्षा हुने गर्छ, तर हालसम्म मात्र ५ सय मिमि अर्थात् ३४.९ प्रतिशत वर्षा भएको छ, जसले अवस्था थप चिन्ताजनक बनाएको छ।
