बाँके — धान रोप्ने मुख्य सिजनमा बाँकेमा युरिया मलको चरम अभाव देखिएको छ। पर्याप्त वर्षा नपरेपछि मोटर र अन्य सिँचाइका माध्यमबाट रोपाइँ गरे पनि किसानहरूलाई मल नपाउँदा समस्या परेको छ।
कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका अनुसार, चालु आर्थिक वर्षमा ८,८०० मेट्रिक टन मल वितरण गर्ने लक्ष्य थियो। तर युरिया, डिएपी र पोटास गरी लक्ष्यभन्दा कम मात्रामा मात्र मल आएको हो।
मल अभावकै कारण धेरै किसानहरू भारतबाट अवैध रूपमा मल ल्याउन बाध्य छन्। डुडुवा कम्दीका किसान सुरज मौर्यका अनुसार, भारतबाट मल ल्याउँदा एसएसबीले नियन्त्रणमा लिने र दुर्व्यवहार गर्ने गरेको छ।
यता कृषि ज्ञान केन्द्र बाँकेले भने ९० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको जनाएको छ। सिँचाइ पुगेका ठाउँमा रोपाइँ भइसकेको र बाँकी ठाउँमा सिँचाइ गरी रोपाइँ भइरहेको जनाइएको छ।
