भोजपुर, १२ साउन। भोजपुरमा गाईभैंसीको नश्ल सुधार गर्ने उद्देश्यले कृतिम गर्भाधान सेवा सुरु गरिएको छ। किसानलाई उन्नत जातका पशुपालनमा आकर्षित गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भोजपुरमार्फत सेवा सञ्चालन गरिएको हो।
केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म जिल्लाका ११ वटा गाईभैंसीमा कृतिम गर्भाधान गरिसकिएको छ। “हामी किसानकै गोठमा पुगेर सेवा दिइरहेका छौं,” प्रमुख दाहालले बताए, “नश्ल सुधारमार्फत मासु र दूध उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले यो अभियान सुरु गरेका हौं।”
भोजपुरमा धेरै किसान पशुपालनमा संलग्न भए पनि उन्नत नश्ल नहुँदा उनीहरूले अपेक्षित उत्पादन लिन नसकेको अवस्था छ। यही समस्यालाई ध्यानमा राखेर सेवा थालिएको दाहालले जानकारी दिए।
कृतिम गर्भाधानबाट पशुको वंशाणुगत गुणस्तरमा सुधार आउने र साढेबाट सर्ने विभिन्न रोगको जोखिम समेत घट्ने केन्द्रको दाबी छ। “नश्ल सुधारसँगै रोग नियन्त्रणमा समेत मद्दत पुग्छ,” दाहालले बताए। केन्द्रले आगामी दिनमा सेवा विस्तार गर्दै जाने योजना बनाएको छ।
