हेटौंडा, साउन १२ गते। देशभर मनसुनी वायु सक्रिय रहँदा आज सोमबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो र राति विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही प्रदेशमा भारी वर्षाको चेतावनीसमेत दिइएको छ।
विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार, आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेश तथा अन्य पहाडी भू-भागमा धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी तराईका केही स्थानमा पनि यस्तै मौसम रहने अनुमान गरिएको छ।
कोशी प्रदेशको तराई तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेशसहित अन्य पहाडी भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। विशेषगरी गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
