गलकोट, साउन १३ — बागलुङ नगरपालिका–१२, अमलाचौरका डिलबहादुर केसीले मौरीपालन व्यवसायबाट वार्षिक ६५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। ‘मौरीबाजे’को नामले चिनिने केसीले वि.सं. २०५६ मा १० हजार रुपैयाँ लगानीमा दुईवटा मौरीका घारबाट व्यवसाय सुरु गरेका थिए।
हाल उहाँले सञ्चालन गर्दै आएको बलेवा मौरीपालन उद्योगमा ३५० वटा मौरीका घार छन्। यहाँबाट हरेक वर्ष करिब २,५०० घार देशभरका जिल्लामा बिक्री हुन्छ। मह, मौरीगोलासहितका घार र खाली घारको बिक्रीबाट पछिल्लो वर्षमा ६५ लाख आम्दानी भएको केसीले जानकारी दिनुभयो।
केसीका दुई छोराहरूले आधुनिक प्रविधि प्रयोग गरी मौरीका घार बनाउने कामलाई अघि बढाइरहेका छन्। हालै १० लाख रुपैयाँमा युरोपबाट ल्याइएको उपकरणमार्फत काठ काट्ने, जोड्ने र रङ गर्ने काम भइरहेको छ।
उद्योगमार्फत ६ जनालाई रोजगारी दिइएको छ। तीनवटा स्थानमा मौरीका चरन क्षेत्र विस्तार गरिएको छ। चितवनका लागि ४०० घार बनाउने काम चलिरहेको छ।
डिलबहादुर केसीले दुई वर्षअघि भारतको सिक्कममा २३६ घार निर्यात गरेका थिए। हाल देशभरका विभिन्न जिल्लामा अनुदानका लागि आवश्यक मौरीका घार यही उद्योगबाट निर्माण भइरहेका छन्।
