कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आज भारी वर्षाको चेतावनी

हेटौंडा, साउन १३ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मंगलवार देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासपूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले वर्षाको सम्भावना बढेको हो।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।

आज राति लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा सामान्यतया बदली रही, बाँकी तराईमा आंशिक बदली रहनेछ। रातिको समयमा लुम्बिनी र पहाडी भूभागका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

भारी वर्षा हुने सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, साथै यातायात क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्