खडेरी बढेसँगै मधेसमा धानको सट्टा विकल्प खोज्ने बेला: विज्ञको सुझाव

हेटौंडा, साउन १३ गते। लगातार खडेरीले तराई-मधेसमा धान खेती संकटमा परेको अवस्थामा कृषि विज्ञहरूले मौसमअनुकूल नयाँ बालीतर्फ फर्किनुपर्ने सुझाव दिएका छन्।

परम्परागत रूपमा मनसुनमा धान रोप्ने चलन रहे पनि पछिल्ला वर्षहरूमा वर्षा कमी र खडेरीका कारण खेत बाँझै बस्न थालेका छन्। यही विषयमा हेटौंडामा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले वातावरणीय परिवर्तनको दीर्घकालीन समाधानका लागि हरियाली प्रवर्द्धन र कृषि प्रणालीमै रूपान्तरण आवश्यक रहेको धारणा राखे।

कृषि विज्ञ डा. कृष्ण पौडेलका अनुसार खडेरीको समस्या आकस्मिक नभई मानव गतिविधिबाट उत्पन्न हो। “विषादी र रासायनिक मलको अत्यधिक प्रयोगले माटो उराठिलो बन्दै गइरहेको छ। यसै कारण वातावरण तातिएको र खडेरी बढेको देखिन्छ,” उहाँले स्पष्ट पार्नुभयो।

उहाँले सरकारले खडेरी समाधानका लागि अघि सारेको डिप बोरिङ कार्यक्रमले तराईलाई दीर्घकालमा मरुभूमि बनाउने चेतावनी पनि दिनुभयो। “हामीले पानी निकाल्ने होइन, माटो जोगाउने र वातावरण चिस्याउने उपायतर्फ लाग्नुपर्छ,” उहाँको जोड थियो।

कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनले वन्यजन्तु र वनस्पतिमा समेत असर पार्ने भएकाले तिनको हक र संरक्षण पनि समान रूपमा उठाइनु पर्नेमा जोड दिनुभयो।

यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु परिवर्तनसँग जुध्न नीति निर्माणमा भावी पुस्ताको अधिकारलाई समेत समेट्नुपर्नेमा जोड दिनुभयो। “आजको निर्णयले भोलिको पुस्तालाई असर गर्छ। त्यसैले न्यायको सन्दर्भमा पुस्ताबिचको सन्तुलन महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।

सञ्चारीका समूहकी अध्यक्ष कमला पन्थीले खडेरीले महिलाको दैनिकीमा पार्ने प्रभावबारे उल्लेख गर्दै भन्नुभयो, “पानीका लागि लामो दूरी हिँड्नु पर्ने बाध्यता महिलाहरूको मुख्य समस्या बन्दै गएको छ।”

कार्यक्रम सञ्चारीका समूह र एक्सनएडको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

By कृषि पाटी

अरू पढ्नुहोस्