जुम्ला, १३ साउन – अब जुम्लाका किसानले भदौ १५ गतेभन्दा अघि स्याउ टिप्न नपाउने भएका छन्। कृषि विकास कार्यालय, जुम्लाले सार्वजनिक सूचना जारी गर्दै काँचो स्याउ टिप्न रोक लगाएको हो।
कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, यदि कोही व्यक्तिले समयभन्दा पहिलै स्याउ टिपेको वा काँचो स्याउ खरिदबिक्री गरेको पाइएमा किसान र व्यापारी दुवैलाई कानुनी कारबाही गरिनेछ।
उनले भने, “काँचो अवस्थामा स्याउ टिप्दा यसको स्वाद, गुणस्तर र पौष्टिकतामा असर पर्न जान्छ। दीर्घकालीन रूपमा यसले जुम्लाको स्याउ ब्रान्ड र बजार मूल्यमा पनि नकारात्मक प्रभाव पार्न सक्छ।”
सार्वजनिक सूचनामार्फत जिल्लाका सबै आठवटा स्थानीय तहको कृषि शाखा र स्थानीयवासीलाई यो विषयमा जानकारी दिइएको छ।
कृषि विज्ञहरूका अनुसार स्याउ टिप्न सबैभन्दा उपयुक्त समय भदौ दोस्रो सातापछि हो। स्याउ परिपक्व नहुँदै बजारमा ल्याउँदा गुणस्तर गिरावटसँगै बिक्रीमा पनि समस्या देखिने अधिकारीको भनाइ छ। किसानहरूलाई स्याउको रंग ७० प्रतिशतभन्दा बढी रातो भइसकेपछि मात्रै सङ्कलन र बिक्री गर्न निर्देशन दिइएको छ।
जुम्लामा हाल करिब १८ हजार घरपरिवारमध्ये १६ हजार घरपरिवार स्याउखेतीमा संलग्न छन्। कृषि विकास कार्यालयका अनुसार जिल्लाभर चार हजार हेक्टरभन्दा बढी जमिनमा स्याउखेती हुँदै आएको छ।
यसैबीच, तातोपानी गाउँपालिकाले पनि आफ्ना क्षेत्रका स्याउ उत्पादक र व्यापारीलाई भदौ १५ पछि मात्रै स्याउ सङ्कलन र निकासी गर्न अनुरोध गरेको छ। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार, तोकिएको मितिभन्दा अघि स्याउ नटिप्न र बिक्री वितरण नगर्न सबैलाई आग्रह गरिएको छ।
