म्याग्दी, १३ साउन — म्याग्दीका फलफूल, तरकारी, खाद्य र मसालाबाली उत्पादन गर्ने किसानहरूले गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८१/८२ मा दुई करोडभन्दा बढी अनुदान पाएका छन्।
कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गत म्याग्दी कृषि ज्ञान केन्द्रको कार्यक्रममार्फत कुल रु २ करोड १२ लाख ९५ हजार अनुदान वितरण गरिएको हो। केन्द्रले यसका लागि रु २ करोड ४७ लाख ४० हजार बजेट विनियोजन गरेको थियो, जसको ८६ प्रतिशत खर्च भएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए।
उनका अनुसार सार्वजनिक सूचना, आवेदन सङ्कलन, स्थलगत निरीक्षण र मूल्याङ्कनपछि छनोट भएका समूह, सहकारी तथा फार्महरूसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन गरिएको हो। ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ।
गत वर्षका योजनाअन्तर्गत:
- ८१ वटा मिनी टिलर,
- १० वटा कुटानी–पिसानी मिल,
- ८२ थान स्प्रेयर,
- ७ वटा ब्रस कटर,
- २९,१५० मिटर पाइप,
- ५३ वटा हिलट्याङ्क,
- ६ सय मिटर सिँचाइ कुलो, र
- १६ वटा सिँचाइ पोखरी निर्माण गरिएका छन्।
सबैभन्दा ठूलो कार्यक्रम “खायन आलु प्रवर्द्धन आयोजना” थियो, जसका लागि रु १ करोड २० लाख बजेट छुट्याइएको थियो। यस आयोजनामार्फत ७९३ जना किसान आबद्ध ३० वटा समूह तथा सहकारीहरू मार्फत १,२५० रोपनी क्षेत्रमा आलुखेती गरिएको छ। यसमा रु ८७ लाख ६४ हजार अनुदान दिइएको छ।
त्यस्तै, सुन्तलाजात फलफूल विकास आयोजना अन्तर्गत ३७० रोपनीमा पुराना सुन्तला बगैँचा सुदृढीकरण र ४० रोपनीमा नयाँ बगैँचा विस्तार गरिएको छ। ४३ वटा समूह, सहकारी तथा फार्मले प्रविधि, औजार, पूर्वाधार र विषादी खरिदका लागि रु ४७ लाख १४ हजार अनुदान पाएका छन्।
अन्य कार्यक्रमहरूबाट प्रदान गरिएको अनुदान यसप्रकार छ:
- तरकारी बाली: रु ८ लाख ६६ हजार
- खाद्यान्न बाली प्रवर्द्धन: रु ९ लाख ९२ हजार
- फलफूल बगैँचा व्यवस्थापन: रु ६ लाख ६३ हजार
- नयाँ बगैँचा स्थापना: रु ७ लाख २० हजार
- मसला तथा निर्यातयोग्य बाली: रु ५ लाख ९८ हजार
- परम्परागत बाली प्रशोधन/बजारीकरण: रु ७ लाख ६१ हजार
- परम्परागत बाली उत्पादन प्रवर्द्धन: रु ९ लाख २८ हजार
- ग्रामीण पोषण सुरक्षण: रु १७ लाख ८६ हजार
- जलवायुमैत्री प्रविधि प्रवर्द्धन: रु ४ लाख ९८ हजार
कृषि ज्ञान केन्द्रले सञ्चालन गरेका विभिन्न प्राविधिक तालिमहरूमा ९९९ जना किसान सहभागी भएका छन्।
