म्याग्दी, १४ साउन — पहाडी जङ्गलमा उम्रिने स्वादिलो र पोषिलो निहुरो (डौडे) अहिले म्याग्दीका ग्रामीण बासिन्दाका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ। पहिले जङ्गलमै कुहिएर खेर जाने यो बोट अहिले बजारमा बिक्री हुन थालेपछि गाउँलेहरू त्यसको सङ्कलनमा सक्रिय भएका छन्।
अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाका अनुसार सडक सुविधा विस्तार भएपछि निहुरोको व्यापार सम्भव भएको हो।
“साउन–भदौमा बर्खेबाली लगाएर फुर्सद भएका गाउँलेहरू निहुरो टिपेर ल्याउँछन् र गाडीवालालाई बेच्दछन्,” उनले भने, “गाडीहरू यात्रुसँगै निहुरो बोकेर बेनी बजारसम्म पु¥याउँछन्।”
उनका अनुसार, दोवाबाट मात्र वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म निहुरो बिक्रीबाट नगद आम्दानी हुने गरेको छ।
स्थानीय सङ्कलक मायाकुमारी पुन भन्छिन्, “पहिले कुहिएर जान्थ्यो, अहिले गाउँमै प्रतिकिलो ६५–७० रुपैयाँमा बेचिन्छ। फुर्सदको सदुपयोग पनि हुन्छ र घरखर्च चलाउने पैसा पनि जुट्छ।”
म्याग्दीको दोवा, दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदी क्षेत्रबाट दैनिक झन्डै ५०० किलोग्राम निहुरो बेनी बजार ल्याइन्छ। बेनीका व्यवसायी देवेन्द्र सुवेदीका अनुसार यिनै निहुरो बागलुङ, कुश्मा हुँदै काठमाडौँसम्म पठाइन्छ।
“बेनी आइपुग्दासम्म प्रतिकिलो १००–१२० रुपैयाँ पर्छ,” सुवेदी भन्छन्, “गत वर्ष दैनिक हजार किलोग्रामसम्म आउँथ्यो, तर यो वर्ष त्यसको आधा मात्र आएको छ। माग अनुसार आपूर्ति हुन सकेको छैन।”
निहुरो समुद्री सतहबाट १,५०० देखि २,५०० मिटर उचाइको ओसिलो जङ्गलमा बर्खायाममा प्राकृतिक रूपमा उम्रन्छ। टुसा पलाएपछि चार–पाँच दिनभित्र ठूलो झ्याङ बन्छ। मुना अवस्थामै टिपिएको निहुरो पकाएर तरकारी वा अचारको रूपमा खाने गरिन्छ।
स्वास्थ्यका दृष्टिले पनि निहुरो निकै लाभदायक मानिन्छ। यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ का साथै आइरन पर्याप्त मात्रामा पाइन्छ। मुटु, मधुमेह, फोक्सो, आँखाको दृष्टिदोष र चिसो खोकीजस्ता समस्यामा फाइदाजनक मानिन्छ। एन्टीअक्सिडेन्टयुक्त भएकाले यसलाई जैविक औषधीय तरकारीको रूपमा पनि लिने गरिएको छ।
बेनीका होटल व्यवसायी पूर्ण गौचनका अनुसार पाहुनाहरूले निहुरोको तरकारी र अचार निकै मन पराउने गरेका छन्।
“स्वादिलो, पोषिलो र स्वास्थ्यवर्धक भएकाले निहुरो सबैले रुचाउँछन्,” उनले भने।
