ललितपुर। नेपाल डेरी एसोसिएसनको आयोजनामा खीर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राजधानीमा आयोजित खीर प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य वस्तुहरू विदेशबाट आयात भैरहेको अवस्थामा त्यसको प्रतिस्थापनका लागि स्वदेशी उत्पादन बढाउन आवश्यक रहेको बताए।
अध्यक्ष ढकालले कृषि प्रवर्द्धनमार्फत ग्रामीण अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै, अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा थप लगानी आवश्यक रहेको धारणा राखे। उनले महासंघको अगुवाइमा सरकारले निजी क्षेत्र–मैत्री कानुन निर्माण गरे पनि ती कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा निजी क्षेत्र खुलेर व्यवसाय गर्न नसकेको गुनासो पनि व्यक्त गरे।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा. पशुपति ढुङ्गानाले कृषक तथा पशुपालक किसानहरूको समस्या समाधान गर्न मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पारे।
त्यसैगरी, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला तथा ठूला डेरी उद्योगका हकहितका पक्षमा संस्थाले निरन्तर काम गरिरहेको जानकारी गराए।
साउन १५ गते ‘खीर खाने दिन’ को अवसरमा देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सोहीअनुसार करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने एसोसिएसनले अनुमान गरेको छ।
नेपाल डेरी एसोसिएसनले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसबाट दुग्धजन्य उत्पादनको उपभोग बढ्ने, किसानहरूलाई प्रत्यक्ष लाभ पुग्ने र नेपाली संस्कृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
