स्वास्थ्यका लागि फाइदाजनक: अम्बा खाँदा हुने फाइदाहरू

अम्बा नेपाली जनजीवनमा निकै लोकप्रिय फल हो। यो फल स्वादिलो मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक मानिन्छ। प्रायः साउन–भदौ महिनामा पाइने अम्बाले शरीरलाई आवश्यक विभिन्न पोषक तत्वहरू प्रदान गर्छ।

अम्बामा विशेषगरी भिटामिन ‘सी’, भिटामिन ‘ए’, फाइबर, पोटासियम र एन्टिअक्सिडेन्ट पाइन्छ। यी तत्वहरूले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछन् र नियमित सेवनले स्वास्थ्य राम्रो रहन सहयोग पुर्‍याउँछ।

पाचन प्रणाली सुधार गर्न अम्बा निकै उपयोगी मानिन्छ। यसमा रहेको फाइबरले पेट सफा राख्न मद्दत गर्छ, जसले कब्जियत हटाउन सहयोग पुर्‍याउँछ। साथै, अम्बाले तौल नियन्त्रणमा राख्न र रक्तचाप सन्तुलनमा राख्न पनि भूमिका खेल्ने गर्छ।

छालाको सौन्दर्य बढाउन र मुटु स्वस्थ राख्न अम्बा उपयोगी मानिन्छ। यसले छालामा चमक ल्याउँछ र शरीरभित्रका हानिकारक तत्वहरू हटाउन सहयोग गर्छ।

अम्बा बिहानको नास्ता पछि वा दिउँसोको खाजामा खानु उपयुक्त हुन्छ। अत्यधिक परिमाणमा खाँदा पेटमा गडबडी हुन सक्ने भएकाले सन्तुलित मात्रामा सेवन गर्नु राम्रो हुन्छ।

सिजनमा सजिलै पाइने र सस्तो हुने अम्बा फललाई खानाले स्वास्थ्यमा धेरै लाभ मिल्ने भएकाले यसको सेवनलाई दैनिक खानपानमा समावेश गर्न सल्लाह दिइन्छ।

By कृषि पाटी

अरू पढ्नुहोस्