वर्षा नहुँदा सयौं किसानको रोपाइँ रोकियो, खेत बाँझै

इलाम – इलामको माई नगरपालिका–६ पलाँसेका किसान सुरबिर योङहाङ यस वर्ष धान रोप्न नपाई आकासे पानीको पर्खाइमा छन्। एक महिनाअघि नै १९ रोपनी खेत खनजोत गरे पनि पानी नपरेकाले रोपाइँ सुरु गर्न सकेका छैनन्। “सबै तयारी गरेँ, तर पानी नपरेपछि हात बाँधेर बस्नुपरेको छ,” उनले भने।

उस्तै पीडा छ, किसान आइतराज लिम्बूको पनि। १६ रोपनी खेत तयार पारेका उनले पनि सिँचाइको अभावमा रोपाइँ गर्न सकेका छैनन्। “पहिले असारको सुरुमा नै पानी पर्थ्यो, तर यो साल साउनको दोस्रो साता सकिँदा पनि पानी छैन,” उनी भन्छन्।

कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लामा अहिले सम्म जम्मा ७४ प्रतिशत मात्र धान रोपाइँ भएको छ। गत वर्ष यो समयसम्म ९२ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो। केन्द्र प्रमुख कुलबहादुर राईका अनुसार, “सिँचाइका मूल स्रोत सुक्खा छन्, खोला र कुलो नपुगेका ठाउँका खेत बाँझै छन्।”

यस वर्ष इलाममा ११ हजार ६३ हेक्टरमध्ये करिब २,८७७ हेक्टर खेत बाँझै रहने देखिएको छ। रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा जमिन चर्किन थालेको किसानहरू बताउँछन्। यदि एक साता भित्र पर्याप्त पानी परेन भने यस वर्षको धान उत्पादनमा ठूलो गिरावट आउने निश्चित देखिन्छ।

By कृषि पाटी

अरू पढ्नुहोस्