किसानलाई सहज रूपमा मल उपलब्ध गराउन किसान महासंघको पहल

नेपालगन्ज, बाँके। बाँके जिल्लामा रासायनिक मलको चरम अभाव भएपछि नेपाल किसान महासंघ बाँकेले तत्काल मल उपलब्ध गराउन आवश्यक पहल थालेको छ। महासंघले विभिन्न सरोकारवाला निकायहरूसँग भेट गरी किसानलाई मल सहज रूपमा उपलब्ध गराउने विषयमा दबाव दिएको हो।

नेपाल किसान महासंघ बाँकेको एक टोलीले कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालय, नेपालगन्ज पुगेर किसानलाई समयमै मल उपलब्ध गराउन आग्रह गरेको महासंघका सचिव ललितकुमार रौनियारले जानकारी दिनुभयो।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जका निमित्त प्रमुख ध्रुवमान श्रेष्ठका अनुसार, कार्यालयमा हाल पाँच हजार बोरा युरिया मल मौज्दातमा भए पनि केन्द्रबाट पत्र नआएकाले वितरण गर्न नसकिएको बताउनुभयो। साथै, केही मल आउने प्रक्रियामा रहेको र त्यसका लागि पहल भइरहेको जानकारी दिनुभयो।

त्यस्तै, कृषि सामग्री केन्द्र नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले वर्षेनी खेती हुने क्षेत्रफल बढिरहेको तर माग अनुसारको मल आपूर्ति नहुँदा अभाव देखिएको उल्लेख गर्नुभयो। उहाँले आवश्यक पहल भइरहेको र केही दिनभित्र थप मल आएपछि तत्कालै वितरण गरिने बताउनुभयो।

किसान महासंघको टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरसँग पनि भेट गरेको थियो। भारतबाट मल ल्याउने क्रममा सुरक्षाकर्मीहरूले रोक्ने गरेको गुनासो राख्दै, यस्तो अवस्थालाई सहज बनाउने आग्रह गरिएको थियो।

प्रहरी प्रमुख घर्तीमगरले किसानले आफ्नो जग्गाको लालपुर्जाको फोटोकपी लिएर १–२ बोरा मल ल्याउन पाउने गरी मातहत सुरक्षाकर्मीहरूलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो।

By कृषि पाटी

अरू पढ्नुहोस्