कीर्तिपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्रगति समीक्षा गोष्ठी सुरु

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी आजदेखि कीर्तिपुरस्थित समशितोष्ण बागवानी केन्द्रको सभाहलमा सुरु भएको छ ।


तीन दिनसम्म चल्ने उक्त गोष्ठीको उद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरे । उद्घाटन सत्रमा मन्त्रालयका सचिव डा। दीपक कुमार खराल, मन्त्रालयका सहसचिवहरू, विभागीय महानिर्देशकहरू, प्रदेशस्तरीय कार्यक्रम कार्यान्वयन इकाइ का.का.ए. का प्रमुखहरू तथा सम्बन्धित आयोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गोष्ठीको प्रारम्भिक सत्रमा कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत २०८१/८२ को चौथो त्रैमासिक तथा वार्षिक अवधिमा सम्पादन गरिएका गतिविधि र उपलब्धिहरूको समग्र प्रगति प्रस्तुत गरेका थिए ।
सत्रको क्रममा बागमती प्रदेश अन्तर्गत कार्यान्वयन भएका कार्यक्रमहरूबारे व।कृ।अ। महेश रेग्मीले, गण्डकी प्रदेशको सन्दर्भमा व।कृ।अ। माधवप्रसाद लम्सालले, तथा कालीमाटी फलफूल तथा तरकारी बजार सञ्चालनको अनुभव सम्बन्धी जानकारी समेत प्रस्तुत गरियो ।


प्रस्तुतिहरूमा कृषि उत्पादनमा देखिएको प्रगति, व्यावसायिकिकरणको अभ्यास, पूर्वाधार विकासको अवस्था, बजेट कार्यान्वयनका चुनौती तथा अवसर, प्रदेशस्तरीय समन्वय, साथै कृषि ऋण सहजीकरणमा सहकार्य गर्ने सम्भावनाहरूमा विशेष चर्चा गरिएको छ । साथै, कृषकलाई लक्षित प्रशिक्षण, प्रविधि विस्तार, बीउ उत्पादन र गुणस्तर अनुगमनसम्बन्धी विषयहरूमा समेत सहभागीबीच छलफल भइरहेको छ ।
पहिलो दिनको अन्तिम सत्रमा विभिन्न प्रदेशका प्रतिनिधिहरूले आफ्ना कार्यानुभव र समस्या प्रस्तुत गरियो । गोष्ठी भोलि सुदूरपश्चिम, कर्णाली, मधेस, लुम्बिनी र कोशी प्रदेशका कार्यक्रमहरूको प्रगति प्रस्तुति तथा सामूहिक छलफलसँगै जारी रहनेछ ।

By कृषि पाटी

अरू पढ्नुहोस्