उर्लाबारी । समयमा वर्षा नहुनुका कारण कोशी प्रदेशमा अझै ११ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न हुन सकेको छैन । कोशी प्रदेशका १४ जिल्लामा २ लाख ७६ हजार ३८६ दशमलव ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर, हालसम्म २ लाख ४६ हजार ६५ दशमलव ४४ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका निमित्त निर्देशक टोनी बर्देवा बताउँछन्।
उनका अनुसार हालसम्म प्रदेशमा जम्मा ८९ दशमलव ३ प्रतिशत मात्र रोपाइँ भएको छ, जुन अघिल्लो वर्षको यही समयको तुलनामा कम हो। गत वर्ष यो अवधिमा ९५ दशमलव १ प्रतिशत रोपाइँ भइसकेको थियो।
धान उत्पादनमा अग्रणी मानिने झापा, मोरङ र सुनसरी जिल्लामा यस वर्ष अपेक्षाकृत कम मात्रामा रोपाइँ भएको छ। मोरङमा ९२ प्रतिशत, सुनसरीमा ९५ प्रतिशत र झापामा ८९ दशमलव ४७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ।
मोरङ जिल्लामा कुल ६९ हजार ८१७ हेक्टर, सुनसरीमा ४८ हजार ९ हेक्टर र झापामा ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ।
