ढल्केबर । धेरै दिनको प्रतिक्षापछि सुरु भएको वर्षासँगै मधेश प्रदेशका किसान धान रोपाइँमा जुटेका छन्। लामो समयको खडेरीले सुक्खा भएको खेतमा हिल्याउन पुग्ने वर्षा भएपछि किसान धान रोपाइँमा जुटेका हुन्। पछिल्लो शुक्रबारदेखि दिनहुँ प्रदेशका सबैजसो स्थानमा वर्षा भइरहेको छ।
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले लामो खडेरीपछि आएको वर्षाले खेतीमा ज्यान फर्काएको बताउनुभयो। उहाँका अनुसार जेठ र असार महिनामा पर्याप्त वर्षा नभएकाले धान रोपाइँमा गम्भीर असर परेको थियो। उहाँले भन्नुभयो, ‘कसैले डिप बोरिङको सहायताले रोपाइँ गरेको भएपनि चर्को घामका कारण बिरुवा सुक्न थालेका थिए। तर हालको वर्षाले बालीलाई नयाँ जीवन दिएको छ।’
महतोका अनुसार पछिल्लो वर्षा किसान र धानबालीका लागि अमृत समान बनेको छ। सिँचाइ अभावमा रोपिएको बाली सुक्ने अवस्था पुगेको थियो भने त्यससँगै किसानको मिहिनेत खेर जाने अवस्था आइपुगेको थियो। अहिलेको वर्षाले सबथोक बचाएको किसान महतोको भनाइ छ।
ढल्केबरका अर्का कृषक रामएकवाल यादवले वर्षाले किसान उत्साहित देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘जेठको पहिलो सातापछि वर्षा नहुँदा रोपाइँ रोकिएको मात्र होइन रोपिएको धान पनि सुक्न थालेको थियो।’ उहाँका अनुसार वर्षासँगै किसान धान रोपाइँमा व्यस्त भएका छन्।
वर्षा नहुँदा मधेश प्रदेशमा धान रोपाइँ प्रभावित हुने अवस्था देखेपछि प्रदेश सरकारले मधेशलाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो भने सङ्घीय सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्रको रूपमा सूचीकृत गरेको छ।
