काठमाडौँ, साउन २० गते। संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न सांसदहरूले देशभरका किसानलाई यथाशीघ्र मलखाद उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। बैठकको शून्य समयमा बोल्दै उनीहरूले मलको चरम अभावका कारण धान रोपाइँ जस्तो महत्वपूर्ण कृषिकर्म प्रभावित भइरहेको बताए।
सांसद देवप्रसाद तिमिल्सिनाले नेपाल कृषिप्रधान राष्ट्र भए तापनि किसानहरू मल अभावमा मारमा परेको भन्दै तत्काल समाधान गर्न सरकारलाई आग्रह गरे।
त्यसैगरी, सांसद प्रभु हजारले मधेसमा वर्षा सुरु भएसँगै किसानले रोपाइँ थालेको तर मल नपाएर समस्या भोग्नुपरेको बताए।
सांसद वासुदेव घिमिरेले मल वितरणमा असमानता देखिएको उल्लेख गर्दै अनुदानको मल वितरण कार्यविधि २०७७ संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले वैज्ञानिक आधार, क्षेत्रीय विविधता र भौगोलिक अवस्थालाई ध्यान नदिँदा मल पहाडी क्षेत्रमा थन्किने र तराईमा अभाव हुने स्थिति आएको दाबी गरे।
त्यस्तै, सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तार गर्दा विस्थापित भएका नागरिकको पुनःस्थापनाको दिगो समाधान अझै नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसदहरूले सरकारलाई तुरुन्त मल उपलब्ध गराउने कार्यमा सक्रिय हुन र वितरण प्रणालीमा समावेशीता तथा पारदर्शिता कायम गर्न जोड दिएका छन्।
