लुम्बिनी प्रदेशमा सिँचाइ सुविधामा उल्लेखनीय वृद्धि

घोराही, साउन २० गते। लुम्बिनी प्रदेशमा कृषि क्षेत्रको सशक्तीकरण हुँदै गएको छ। हालसम्म कुल ६ लाख ७९ हजार ८२ हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ५५.२० प्रतिशत अर्थात् ३ लाख ६१ हजार ५८१ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको प्रदेश सरकारको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा सिँचाइ सुविधा पुगेको जमिन ३ लाख ४० हजार ७१ हेक्टर मात्र थियो। प्रदेश सरकार गठनपछि सिँचाइ क्षेत्रमा गरिएको लगानी र योजनाबद्ध कामका कारण यो संख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ महाशाखाका प्रमुख कृष्णबहादुर विकका अनुसार, हाल सिँचाइ सुविधा पुगेको जमिनमध्ये करिब ३५ प्रतिशत जमिनमा वर्षभर सिँचाइ उपलब्ध छ।

उनका अनुसार, प्रदेश सरकार स्थापना यता लुम्बिनीमा ४३६ वटा मुख्य सतह सिँचाइ आयोजना निर्माण भइसकेका छन्। यी आयोजनाले स्थानीय कृषकलाई समयमै सिँचाइ उपलब्ध गराई उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्