बर्दिबास, सरकारले चालु आर्थिक वर्ष ०८२/८३ को बजेटमा उखुमा दिँदै आएको प्रति क्विन्टल ७० रुपियाँ अनुदान कटौती गरेको विरोधमा उखु कृषकहरुले टायर बालेर प्रदर्शन गरेका छन्।
उखु उत्पादक कृषक संघ महोत्तरीको नेतृत्वमा ऐक्यबद्ध भएका किसानहरुले रामनगरस्थित एभरेष्ट चिनी मिलको मूल गेटमा बुधबार टायर बालेर विरोध जनाएका हुन्। यसअघि साउन १८ गते उखु किसानले प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।
टायर बाल्ने क्रममा उखु कृषकहरुले ‘किसानको माग पूरा गर, उखुको अनुदान फिर्ता गर, झुठो आश्वासन चाहिँदैन, किसान मार्न पाइँदैन, किसान एकता जिन्दावाद’ जस्ता नारासमेत लगाएका थिए।
विरोध सभालाई सम्बोधन गर्दै उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहाले खडेरीले आक्रान्त किसानलाई राहत दिनुको साटो सरकारले अनुदान कटौती गरेर अन्याय गरेको बताउनुभयो। उहाँका अनुसार उद्योगपतिले उखुको उचित मूल्य नदिए पनि सरकारले दिएको ७० रुपियाँको अनुदानले थोरै भए पनि किसानलाई राहत मिलेको थियो।
कुशवहाले भन्नुभयो, ‘‘मूल्य पनि नबढाउने र अनुदान पनि कटौती गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो। सरकारले सुनुवाइ नगरे उखु खेती त्याग्नुको विकल्प देखिदैन।’’
उखु उत्पादक कृषक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले अनुदान कटौतीका कारण महोत्तरीका मात्र १४ हजार ५३३ जना उखु कृषक प्रत्यक्ष मारमा परेको जानकारी दिनुभयो।
