सुलीकोट, गोरखा — गोरखा जिल्लामा हालसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यद्यपि साउनको पहिलो हप्तासम्म वर्षा कम भए पनि साउन १० गतेदेखि लगातार भएको अविरल वर्षाका कारण असार २० गते (मंगलबार) सम्म ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र गोरखाले जानकारी दिएको छ।
कृषि ज्ञान केन्द्र गोरखाका अर्थ विज्ञ सुमन भट्टराईका अनुसार, सिँचाइ सुविधा उपलब्ध रहेका कुलो र नहर भएका खेतमा रोपाइँ पूर्ण रूपमा सम्पन्न भइसकेको छ। वर्षाको पानीमा भर पर्ने खेतहरूमा भने हाल पनि रोपाइँ जारी रहेको जानकारी गराइयो।
गोरखा जिल्लामा कुल १०,१४० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ। हालसम्म करिब ९,१०० हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार, अझै पनि वर्षा भइरहेकाले साउन महिनाको अन्तिमसम्म रोपाइँको प्रतिशत ९७ सम्म पुग्ने विश्वास गरिएको छ।
उनले बताएअनुसार, अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्ने बाध्यताका कारण रोपाइँ ढिलो भएको हो। पानीको मूल ढिलो फुटेका कारण पनि केही फाँटमा ढिलाइ भएको देखिएको छ।
तर, किसानहरूले साउनको अन्तिमसम्म रोपाइँ गर्न सक्ने भएकाले रोपाइँको प्रतिशत मात्र नभई उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रको भनाइ छ।
