कञ्चनपुर । भारतबाट आयातको लागि ल्याइएको मसुरो र मासको दाल गुणस्तर परीक्षणमा फेल भएपछि नेपाल भित्र्याउन नपाइने भएको छ ।
न्यू श्री बेटल ट्रेडर्स, भिमदत्त नगरपालिका–कञ्चनपुरले भारतबाट धनगढी भन्सार नाकामा ल्याएको दुई हजार नौं सय २० केजी मसुरोको दाल र दुई हजार दुई सय ५० केजी मासको दाल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, धनगढीमा पठाइएको थियो ।
परीक्षणमा मसुरोको दालमा किराले क्षति पुर्याएका दाना मापदण्डभन्दा धेरै पाइएको र मासको दालमा बाह्य रङको उपस्थिति भेटिएको विभागले जनाएको छ । यस्तो अवस्थामा दुवै दाल नेपालमा आयात गर्न नमिल्ने ठहर गर्दै विभागले प्रतिवेदन धनगढी भन्सार कार्यालयमा पठाएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य पदार्थ नेपाल भित्र्याउनुअघि अनिवार्य रूपमा विभाग वा तोकिएको कार्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।
विभागले सबै खाद्य व्यवसायीलाई स्वीकृति र अनुमति विना खाद्य आयात नगर्न चेतावनी दिएको छ । प्रावधान विपरीत काम गरे कानुनी कारबाही हुने समेत विभागले स्पष्ट पारेको छ ।
मसुरो र मासको दाल गुणस्तर मापदण्ड नपुग्दा आयातमा रोक
