काठमाडौँसम्म पुगे दोलखाको अकबरे खुर्सानी

दोलखा, साउन २१। मेलुङ गाउँपालिका–२ की सम्झना खडका बुढाथोकीले व्यावसायिक रूपमा लगाएको अकबरे खुर्सानी खेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ। १८ महिने कृषि जेटीए अध्ययन पूरा गरेपछि उहाँले व्यावसायिक कृषिमा लाग्ने निर्णय गर्नुभएको थियो।

खुर्सानी खेती सुरु गरेको चार महिनामै नर्सरी र ढिंडी (कच्चा खुर्सानी) बेचेर तीन लाख ८० हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो।

फागुन महिनामा रोपिएको इलामे जातको अकबरे खुर्सानीले जेठमै सात सय किलो उत्पादन दिएको थियो। उक्त खुर्सानी काठमाडौँ र स्थानीय बजारमा प्रतिकिलो ४ सय रुपैयाँसम्ममा बिक्री भएको हो। ढिंडी बिक्रीबाट दुई लाख ८० हजार र नर्सरीबाट एक लाख रुपैयाँ आम्दानी भएको बुढाथोकीले बताउनुभयो।

उहाँका अनुसार दोस्रो लटको उत्पादन पनि भइसकेको छ र त्यसबाट पनि उत्तिकै आम्दानी हुने अपेक्षा गरिएको छ। बजारमा माग समेत बढ्दो छ।

गैरसरकारी संस्था हेफर नेपालको सल्लाह र आर्थिक सहयोगमा तीन रोपनी जग्गामा २६ सय बोट अकबरे खुर्सानी रोपिएको छ। थप करिब एक रोपनीमा नर्सरी पनि सञ्चालन गरिएको छ। यदि थप सहयोग प्राप्त भयो भने खेती विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

By कृषि पाटी

अरू पढ्नुहोस्