सिन्धुली, २२ साउन । लामो समयसम्म पानी नपरेकाले सिन्धुली जिल्लामा यो वर्ष अपेक्षित मात्रामा धान रोपाइँ हुन सकेन। जिल्ला कृषि विकास कार्यालय, सिन्धुलीका अनुसार २०८२ साल साउन १८ सम्म जिल्लाभर जम्मा ११ हजार ३५७ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १७ सय हेक्टर कमी हो । सिन्धुली जिल्लाका ९ वटा स्थानीय तहहरूमध्ये सबैभन्दा बढी रोपाइँ तीनपाटन गाउँपालिकामा भएको छ।
जिल्लाको कमलामाई नपामा सवैभन्दा धेरै ३६सय ३७ हेक्टरमा धान रोपाई भएको छ । त्सैगरि, दुधौलीमा २४ सय ९१, तीनपाटनमा १५ सय ९९, मरिणमा १२ सय ६३ हेक्टरमा धान रोपाई भएको हो । त्यसैगरि, सुनकोशीमा ७५०, हरिहरपुरगढीमा ६२१, गोलन्जारमा ५१५, घ्याङलेखमा ५८, फिक्कलमा २३७ हेक्टरमा धान खेती भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख अनुप अधिकारीले जानकारी दिए ।
गत साल ९७ प्रतिशत धान रोपाई भएकोमा यसवर्ष यहि समयमा ८४ प्रतिशत मात्रै धान रोपाई भएको हो । कार्यालयकाअनुसार लामो समयसम्म वर्षा नहुनु, केही स्थानमा बीउको अभाव हुनु र समयमै सिँचाइ व्यवस्था नहुनुले गर्दा धेरै पालिकामा लक्ष्यअनुसार रोपाइँ हुन नसकेको जनाएको छ।
स्थानीय कृषकहरूका अनुसार, भदौको पहिलो सातासम्म पर्याप्त पानी परेमा केही बाँकी जमिनमा समेत रोपाइँ हुने सम्भावना छ। यद्यपि मुख्य सिजनको समय सकिँदै गएकाले बाँकी क्षेत्रफलमा रोपाइँ हुन गाह्रो हुने कृषि विज्ञहरूले बताएका छन्।
