आज शुक्रबार पनि देशभर मनसुनको प्रभाव

२३ साउन, हेटौँडा – आज शुक्रबार पनि देशभर मनसुनको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू(भागमा अवस्थित रहेकाले देशका अधिकांश स्थानमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, देशका बाँकी पहाडी भू(भागका केही र मधेश प्रदेश लगायत अन्य तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षा हुनेछ।

विशेषगरी लुम्बिनी प्रदेशको तराई तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राती पनि देशभर मौसम साधारणतया बदली नै रहनेछ। राती मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। वर्षाका कारण यातायात र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने हुँदा सजग रहन आग्रह गरिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्