साउन २३ गते, बागलुङ – वैदेशिक रोजगारीतर्फ युवाको बढ्दो आकर्षण र कृषि जनशक्तिको अभावका कारण बागलुङ जिल्लामा खेतीयोग्य जमिन बाँझो रहन थालेको छ। हाल जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये करिब १५ हजार ६ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती हुन सकेको छैन।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लामा कुल १ लाख ७८ हजार ४ सय ६ हेक्टर जमिन रहेको छ। यसमध्ये ४६ हजार १ सय ४८ हेक्टर जमिन खेतीयोग्य मानिएको छ। तर अहिले जम्मा ३० हजार ५ सय ३ हेक्टर जमिनमा मात्रै खाद्यन्न उत्पादन भइरहेको छ।
बाँकी १५ हजार ६ सय ४५ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको र १ हजार २० हेक्टर जमिन प्लटिङ गरेर राखिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशिने क्रम बढ्दो छ भने गाउँमा वृद्धवृद्धा मात्र बस्ने अवस्था बनेको छ। “बुहारीहरु पनि शहरतिर सर्ने चलन बढेकाले गाउँमा काम गर्ने जनशक्ति अभाव छ, जसले खेतीमा कमी आएको हो,” अधिकारीले बताउनुभयो।
जिल्लामा खेती हुने कुल जमिनमध्ये पनि केवल २० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ। अधिकारीका अनुसार ६ हजार १ सय ५६ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध छ। त्यसमा पनि २ हजार ७ सय ७६ हेक्टर जमिनमा बारहमास सिँचाइ हुन्छ भने ३ हजार ३ सय ८० हेक्टरमा मौसमी सिँचाइ मात्र उपलब्ध छ। बाँकी २४ हजार ३ सय ४७ हेक्टर खेतीयोग्य जमिन अझै पनि सिँचाइ सुविधाविहीन अवस्थामा रहेको छ।
