मधेसमा ७७ प्रतिशत धान रोपाइँ

धनुषाधाम। खडेरीको असर झेलिरहेका मधेस प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार, सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत पुगेको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत मात्र भएको छ।

प्रदेशको कुल ५ लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान रोप्ने चलन छ। हालसम्म २ लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।

पानीको कमी भए पनि बोरिङ र मुख्य नहरहरू — बारामा गण्डक, सप्तरीमा कोशी, सर्लाही–रौतहटमा बागमती — मार्फत किसानले सिँचाइ गरेका छन्। तर धनुषामा कमला नदी सुक्दा रोपाइँमा कठिनाइ आएको छ।

यो वर्ष अधिकतम ८० प्रतिशतसम्म मात्र रोपाइँ हुने अनुमान छ। ढिलो रोपाइँका कारण धान उत्पादनमा करिब २७ प्रतिशत गिरावट आउन सक्ने निर्देशक यादवको भनाइ छ।

सुक्खा प्रभावित क्षेत्रमा भूमिगत सिँचाइ सहयोग कार्यक्रममार्फत राहत दिने घोषणा गरिएको छ। हालसम्म प्रदेशभरका २२ हजार ५२ किसानले यसका लागि आवेदन दिएका छन्।

By कृषि पाटी

अरू पढ्नुहोस्