चितवनमा कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि

चितवन, २८ साउन — चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) भेटिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाको विगत तीन महिनाको अध्ययनमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो।

कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहित विभिन्न जिल्लाबाट सङ्कलित ९२ नमूनामध्ये ३१ (३३ प्रतिशत) मा रोग पाइएको छ। एलाइजा प्रविधिबाट गरिएको परीक्षणमा रोगको कारण कुखुराको प्रतिरोध क्षमता कमजोर हुने र अन्य रोगको खतरा बढ्ने पाइएको छ।

यो रोग लागेका कुखुरामा रक्तअल्पता, तौल नबढ्ने, उत्पादन घट्ने जस्ता लक्षण देखिन्छन्। प्रत्यक्ष असर कम भए पनि दीर्घकालीन आर्थिक क्षति हुने भएकाले बेवास्ता नगर्न विशेषज्ञको सुझाव छ।

नेपालमा यो भाइरस पहिलोपटक दुई वर्षअघि काठमाडौंमा भेटिएको हो। बचाउका लागि ब्रोइलर र लेयर्स दुवैको माउ र चल्लामा खोप दिनुपर्ने श्रेष्ठको भनाइ छ।

गत आर्थिक वर्षमा प्रयोगशालाले १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा अन्य रोगहरूमध्ये ‘लो प्याथोजेनिक एभिएन इन्फ्लुएन्जा’ ४८, रानीखेत १३, गम्बारो १२२ र आईबी २ वटामा पाइएको थियो।

By कृषि पाटी

अरू पढ्नुहोस्