पर्सामा मल अभाव, किसान तनावमा

वीरगञ्ज । पर्सामा धानमा मल हाल्ने प्रमुख समयमा रासायनिक मलको अभाव देखिएको छ। जिराभवानी गाउँपालिका–५ का किसान अलखदेवप्रसाद थारूले रोपाइँ गरेको एक महिना भए पनि मल नपाएको गुनासो गरे। वीरगञ्ज–२८ का किसान गेनालाल पटेल पनि पानी परेपछि खेतीमा आशा पलाए पनि मल अभावले तनाव बढेको बताए।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा प्रतिकट्ठा ३–४ किलो मलको मापदण्ड भए पनि किसानले ८–१० किलोसम्म प्रयोग गर्ने भएकाले पनि अभाव देखिन्छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मागको करिब ६० प्रतिशत मात्र आपूर्ति हुने बताएका छन्।

चालु आव २०८१/८२ मा पर्सामा १० हजार ९४७ मेट्रिक टन मल बिक्री भएको छ। युरिया धान बाहेक उखु, सुर्ती र माछापालनमा समेत प्रयोग हुने भएकाले माग उच्च रहेको अधिकारीहरूको भनाइ छ। जिल्ला प्रशासनले वितरण प्रणाली व्यवस्थित गर्न सहकारी र डिलरलाई निर्देशन दिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्