काठमाडौँ, साउन २९ गते । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी तराई नजिक रहेकाले आज (बिहीबार) देशको पश्चिमी भू-भागमा मनसुन बढी सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पूर्वी क्षेत्रमा भने यो रेखा तराईभन्दा केही दक्षिणतर्फ रहेकाले मनसुन तुलनात्मक रूपमा कमजोर रहने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। यी प्रदेशहरूका पहाडी तथा तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
आज राति देशको पहाडी भू-भागमा बदली रही गण्डकी प्रदेशको पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ। यस्तै, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
विभागले भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, साथै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
