काठमाडौँ — मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेपछि नेपालमा मनसुनी गतिविधि शुक्रबार केही कमजोर भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभावले आज दिउँसो र राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
विभागले जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार, दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र अन्य पहाडी क्षेत्रका थोरै स्थानमा हल्का–मध्यम वर्षा हुने सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि वर्षा पर्न सक्नेछ।
राति कोशी प्रदेशसहितका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ। साथै, अन्य पहाडी तथा तराईका केही स्थानमा पनि हल्का–मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
मनसुन कमजोर रहेकाले ठूलो वर्षाको सम्भावना फिलहाल कम भए पनि पहाडी क्षेत्रमा हुन सक्ने वर्षाका कारण सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
