जनप्रतिनिधिको पहलमा पश्चिम नवलपरासीमा थप रासायनिक मल आपूर्ति

पश्चिम नवलपरासीमा किसानहरूले मलको अभाव झेलिरहेका बेला जनप्रतिनिधिहरूको सक्रियतापछि थप रासायनिक मल भित्रिएको छ। स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा सांसदहरूले कृषि सामग्री कम्पनीको भैरहवा कार्यालय र मुख्यमन्त्रीसँग छलफल गरेपछि यो आपूर्ति सम्भव भएको हो।

कृषि सामग्री कम्पनी लिमिटेड परासीका अनुसार यो पहलमार्फत ८३ मेट्रिक टन युरिया र ८४ मेट्रिक टन डिएपी जिल्ला पठाइएको हो। यो मल अन्य जिल्लालाई तोकिएको कोटाबाट कटौती गरेर पश्चिम नवलपरासी ल्याइएको हो।

प्रदेश मन्त्रालयले कुल ३१५ मेट्रिक टन युरिया उपलब्ध गराउने वाचा गरेको छ, जसमा बाँकी २३२ मेट्रिक टन चाँडै आउने कम्पनीका प्रमुख ताराप्रसाद खनालले बताए। प्राप्त हुने मल वितरणका लागि पालिकाअनुसार कोटा निर्धारण भइसकेको छ—रामग्रामलाई ६१.५५ मेट्रिक टन, सुनवललाई ४३.४० मेट्रिक टन, बर्दघाटलाई ४० मेट्रिक टन, सरावललाई ४४.५० मेट्रिक टन, पाल्हीनन्दनलाई ३३.८५ मेट्रिक टन, प्रतापपुरलाई ५१.१५ मेट्रिक टन र सुस्तालाई ४०.५५ मेट्रिक टन छुट्याइएको छ।

यसअघि साउन १९ गते प्राप्त २१५ मेट्रिक टन युरियामध्ये अझै ७० मेट्रिक टन वितरण हुन बाँकी छ। त्यसका लागि तीन सहकारीले भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ। हाल सात पालिकाका ७९ सहकारीमार्फत किसानलाई मल उपलब्ध गराइँदै आएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्