दूधको रु ४ अर्बभन्दा बढी भुक्तानी रोकिँदा किसान आन्दोलित हुने चेतावनी


चितवन, २९ साउन — देशभरका दुग्ध उत्पादक सहकारीहरूले लामो समयदेखि दूधको भुक्तानी नपाएको गुनासो गर्दै आन्दोलनको तयारी गरेका छन्। केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैठकले आगामी भदौ ४ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो।

सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार किसानलाई सम्मानित बनाउन र थकित भुक्तानी तत्काल पाउनुपर्ने मागसहित आन्दोलनको योजना बनाइएको हो। “दुग्ध उत्पादक किसान अपमानित हुन चाहँदैनन्, यसैले हामी आन्दोलनमा जाँदैछौँ,” उनले भने।

हाल देशभरका किसानले सरकार र निजी क्षेत्रबाट गरी झण्डै रु ४ अर्ब भुक्तानी पाउन बाँकी रहेको सङ्घको दाबी छ। यसमध्ये दुग्ध विकास बोर्डको करिब रु १ अर्ब र निजी उद्योगहरूको रु ३ अर्बभन्दा बढी रकम अझै भुक्तानी भएको छैन।

सङ्घका महासचिव राम आचार्यका अनुसार भुक्तानी गर्ने र नगर्ने उद्योगको सूची सार्वजनिक गरिने छ। “कसैले नियमित भुक्तानी गरिरहेका छन्, तर धेरै उद्योगले लामो समयदेखि रकम अड्काइरहेका छन्,” उनले भने।

बैठकले सबै उद्योगलाई भदौ ४ गतेसम्म भुक्तानीका लागि समय दिने र त्यसपछि आन्दोलनमा जाने निर्णय गरेको छ। सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूध बेचेर गुजारा गर्ने किसानलाई अपहेलना भएको भन्दै अबको आन्दोलनबाट न्याय दिलाउने विश्वास व्यक्त गरे।

दुग्ध विकास बोर्डले गत माघदेखि र निजी उद्योगहरूले मङ्सिरदेखि भुक्तानी रोकिराखेको सङ्घको आरोप छ। सङ्घका सचिव थानेश्वर सापकोटाले विभिन्न बहानामा किसानको रकम रोकिनु अति अन्यायपूर्ण भएको बताए।

हाल देशका ६४ जिल्लामा दूध उत्पादन भइरहेको छ, जसमा ३६ जिल्लामा जिल्ला दुग्ध उत्पादक सहकारी छन्। १,८७२ सहकारीमार्फत दैनिक करिब १३ लाख लिटर दूध उत्पादन भइरहेको र करिब ६ लाख परिवार प्रत्यक्ष संलग्न रहेको सङ्घले जानकारी दिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्