भोजपुरमा वर्षा ढिलाइपछि कोदो रोपाइँमा चटारो

भोजपुर, ३० साउन । भोजपुरका किसान अहिले कोदो रोपाइँमा व्यस्त छन्। प्रायः मकै कटानपछि दोस्रो बालीका रूपमा यहाँका किसानले कोदो रोप्ने गर्छन्। भँगेरी, बोखिम, दुम्सी, दावा लगायत भोजपुर जिल्लाका नौवटै स्थानीय तहमा कोदो खेती हुने परम्परा छ।

यस वर्ष समयमै वर्षा नहुँदा खडेरीका कारण बेँसी क्षेत्रमा रोपाइँ ढिलो भएको किसानहरू बताउँछन्। तर हाल वर्षा सुरु भएपछि किसानहरू बारीमा व्यस्त भएका छन्। स्थानीय बजारमा कोदोको मूल्य प्रतिकिलो रु ५० देखि रु ६० सम्म रहेको छ।

स्थानीय कृषक रामबहादुर खत्रीका अनुसार कोदो रैथाने बाली भएकाले यसको प्रवर्द्धनका लागि सरकारले विशेष योजना ल्याउन आवश्यक छ। “व्यावसायिक रूपमा खेती गर्ने चलन छैन, खानका लागि मात्र रोप्दै आएका छौँ। तर गाउँघरमा अहिले कोदो रोपाइँको चटारो छ,” उनले बताए।

कोदोबाट रोटी, ढिँडो, केक, पेय पदार्थसहित विभिन्न मिष्ठान्न तयार गर्न सकिन्छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष ५,२७० हेक्टर क्षेत्रमा कोदो खेती भएको थियो र यस वर्ष पनि सोही हाराहारीमा हुने अनुमान छ।

तर श्रम धेरै लाग्ने र उत्पादन कम हुने भएकाले किसानको आकर्षण घट्दै गएको छ। साथै मूल्य स्थिर नहुँदा बिक्रीमा समस्या हुने किसानहरूको भनाइ छ।

By कृषि पाटी

अरू पढ्नुहोस्