उदयपुरका किसानले पहाडमै उत्पादन गरेको स्कुसले बजार ततायो

उदयपुर, १ भदौ। सदरमुकाम गाईघाटमा तरकारीको मूल्य चुलिँदै गएको बेला उदयपुरका पहाडी गाउँ— रौता, साउने, खाँबु, रौतामलबासे र सल्लेमा उत्पादन भएको स्कुसले बजारमा नयाँ रौनक थपेको छ।

खाँबुका किसान टङ्कबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि स्थानीय स्कुस गाईघाट बजारमा बिक्री हुन थालेको हो। अर्का किसान देवराज खत्रीका अनुसार अहिले गाईघाट, देउरी, बगाहा हुँदै सिरहा क्षेत्रबाट समेत व्यापारी आएर स्कुस किन्ने गरेका छन्। उनको भनाइमा हाल दैनिक रु १० हजारदेखि २० हजारसम्मको कारोबार भइरहेको छ।

गाईघाट सब्जी बजारकी व्यापारी कुमारी कटुवालले पहाडी स्कुस प्रतिकिलो रु ३० देखि ४० सम्ममा किसानसँग किन्दै रु ६० मा बिक्री गर्ने गरेको जानकारी दिइन्। उनले स्थानीय उत्पादनका कारण उपभोक्ताले ताजा र स्वच्छ तरकारी उपभोग गर्न पाएको बताइन्।

गाईघाटकी उपभोक्ता सम्झना बस्नेत भन्छिन्, “बाहिरबाट आउने सडेगलेका र विषादीयुक्त तरकारीभन्दा जिल्लाकै पहाडमा उत्पादन भएको अग्र्यानिक स्कुस स्वास्थ्यका लागि सुरक्षित र खर्चमा पनि सस्तो परेको छ।”

किसानका अनुसार साउने, खाँबु र रौता क्षेत्रमा उत्पादन भएको स्कुसप्रति उपभोक्ताको रुचि बढेकाले बजारमा यसको माग उच्च छ। व्यापारी प्रेम मगरले गत वर्ष जस्तै यसपटक पनि भदौ महिनाभर लाखौँको स्कुस बिक्री हुने अपेक्षा व्यक्त गरे।

By कृषि पाटी

अरू पढ्नुहोस्