चाडपर्व नजिकिँदै : तरकारीको मूल्य आकाशिँदै

चाडपर्व नजिकिँदै जाँदा उपत्यकाका उपभोक्ता महँगो तरकारी किन्न बाध्य भएका छन्। पछिल्लो एक महिनामै हरियो तरकारीको मूल्य ४३७ प्रतिशतसम्म उकालो लागेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

गत असार ३० गते प्रतिकेजी १६ रुपैयाँमा कारोबार भएको तनेबोडी साउन ३० गते आइपुग्दा ९५ रुपैयाँ पुगेर ४३७ प्रतिशतले बढ्यो। यस्तै, लौका २५ रुपैयाँबाट ७५ रुपैयाँ पुग्दा २०० प्रतिशतले बढेको छ भने २५ रुपैयाँमा पाइने सेतो मुला अहिले ४५ रुपैयाँ पुगेको छ।

त्यस्तै, घिउसिमी ५० रुपैयाँबाट ८६ रुपैयाँ, तितेकरेला २६ रुपैयाँबाट ७४ रुपैयाँ, हरियो फर्सी २२ रुपैयाँबाट ५५ रुपैयाँ पुगेको समितिले जनाएको छ। घिरौँला ३९ रुपैयाँबाट ४५ रुपैयाँ र भिन्डी ३६ रुपैयाँबाट ६५ रुपैयाँ पुगेको छ। विशेषगरी काउली, च्याउ, तामा, काँक्रो, घिउसिमी, तनेबोडी जस्ता चाडपर्वमा बढी माग हुने तरकारीको मूल्य तीव्र गतिमा बढेको छ।

व्यापारीहरूका अनुसार उत्पादन स्थलमै तरकारी महँगो हुँदा काठमाडौँसम्म आइपुग्दा मूल्य अझ बढ्ने गरेको छ। कालीमाटीका थोक व्यापारी गीता प्रसाद आचार्यका अनुसार, उपत्यकामा आपूर्ति हुने चितवन, मकवानपुरसहितका तराईका जिल्लामा धान रोपाइँपछि तरकारी उत्पादन घटेका कारण अहिले अभाव देखिएको हो। उनका अनुसार असोज–कात्तिकसम्म नै मूल्य बढ्ने सम्भावना छ।

By कृषि पाटी

अरू पढ्नुहोस्