नेपाललाई आत्मनिर्भर बनाउन मौलिक कृषि प्रणाली रोज्नुपर्छ : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन देशभरका स्थानीय तहले आफ्नो माटो र वातावरणअनुकूल मौलिक कृषि प्रणाली रोज्नुपर्ने बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चाँगुनारायणमा सञ्चालन भएको एभोकाडो अभियानलाई सफल उदाहरणका रूपमा प्रस्तुत गर्दै सबै ७५३ स्थानीय तहले यसबाट सिक्नुपर्ने बताए।

उनले भने, “प्रत्येक स्थानीय तहले आफ्नो माटो र वातावरणअनुसार कृषि, फलफूल तथा अन्य उपज उत्पादन गर्न सके देश कृषिमा आत्मनिर्भर बन्न सक्छ। देशमै रोजगारी सिर्जना गर्नेतिर सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्छ, विदेशको अन्धानुकरण दुर्भाग्यपूर्ण हो।”

अध्यक्ष दाहालले मौलिक नमूनामा आधारित आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै युवाहरूको समूहगत कृषि र उद्यमशीलताप्रति बढ्दो रुचि सकारात्मक रहेको बताए। उनका अनुसार नेपालमा कृषि, पर्यटन, ऊर्जा तथा प्राकृतिक स्रोतसाधनको अपार सम्भावना रहेकाले सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढाउनुपर्नेछ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख सोम मिश्र, अभियानका अभियन्ता तथा माओवादी केन्द्रका नेता डिपी ढकाल, संयोजक नरेश खड्कालगायतले एभोकाडो अभियानले ल्याएको सकारात्मक प्रभावबारे धारणा राखेका थिए।

By कृषि पाटी

अरू पढ्नुहोस्