ब्राजिलमा एउटा गाइले तीन दिनमा ३४३ लिटर दुध दिएर बनायो नँया रेकर्ड

ब्राजिलमा आयोजित डेरी प्रतियोगितामा एक जिरोलान्डो जातको गाई ले तीन दिनमा ३४३ लिटर दूध उत्पादन गर्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गरेको छ।

जिरोलान्डो गाई होल्स्टिन र गिर प्रजातिबीचको क्रस हो, जुन अत्यधिक दूध उत्पादन क्षमताका कारण विश्वप्रसिद्ध मानिन्छ। सामान्यतया एक जिरोलान्डो गाईले करिब ३०५ दिनमा ३,६०० लिटर दूध दिन्छ। तर विशेष अवस्थामा केही गाईहरूले एकै दिनमा १०० लिटरभन्दा बढी दूध दिने गरेका छन्।

यसअघि दक्षिण मिनास जेराइसको डेल्फिम मोरेइरा क्षेत्रमा एक गाईले एक दिनमै १२० लिटर दूध उत्पादन गरेको थियो, जुन विश्व रेकर्डको नजिक थियो। हालसम्मको आधिकारिक विश्व रेकर्ड भने सन् २०१९ मा “मारिल्हा फिभ थिएत्रो डे नायलो” नामकी जिरोलान्डो गाईले कायम गरेकी हुन्, जसले एकै दिनमा १२७.६ लिटर दूध उत्पादन गरेकी थिइन्।

प्रतियोगिताका क्रममा किसानहरूले गाईलाई विशेष आहार दिने गरेका छन्। नियमअनुसार गाईलाई प्रतियोगिता सुरु हुनु ४८ घण्टाअघि नै ल्याउनुपर्ने र दूध दिनु दिनमा तीनपटक (८–८ घण्टाको अन्तरालमा) मात्र अनुमति हुन्छ। साथै, पूरक आहार प्रयोग भए–नभएको परीक्षण अनिवार्य गरिएको छ।

ब्राजिल विश्वकै महँगो गाईहरूको देश पनि हो। केही वर्षअघि नेलोरे जातकी एक गाई ४.३ मिलियन अमेरिकी डलरमा बिक्री भएकी थिइन्।

By कृषि पाटी

अरू पढ्नुहोस्